२०८३ जेठ १२ , मंगलबार


जुम्ला । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले आफ्नो ३९औँ जन्मदिनमा सामाजिक सेवामूलक कार्यमार्फत मनाएका छन्। उनले तातोपानी गाउँपालिका–५ का जेष्ठनागरिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई सम्मानस्वरूप सामग्री सहयोग प्रदान गरेका हुन्।
शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा १५ जना अति अशक्त तथा जेष्ठ नागरिकलाई पछ्यौरा, ढाका टोपी, मोफलर तथा फलफूल वितरण गरिएको थियो। महिलाहरूलाई पछ्यौरा र फलफूल तथा पुरुषहरूलाई ढाका टोपी, मोफलर र फलफूल प्रदान गरिएको जनाइएको छ।
लाम्रा गाउँका ८७ वर्षीय जेष्ठ नागरिक कृष्ण रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नन्द प्रसाद चौलागाई प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै उनले जन्मदिनजस्ता अवसरमा हुने अनावश्यक खर्चलाई सामाजिक कार्यमा लगानी गर्नु सकारात्मक सन्देश भएको उल्लेख गर्दै चौलागाँईलाई शुभकामना तथा धन्यवाद व्यक्त गरे।
त्यस्तै तातोपानी–५ का वडा अध्यक्ष छिरिङ महतले महँगो तामझामभन्दा परोपकारी कार्यमार्फत जन्मदिन मनाउने पहलले युवापुस्तामा सकारात्मक ऊर्जा थपेको बताए।अध्यक्ष चौलागाँईले होटलमा तडकभडक रूपमा खर्च गर्ने चलनभन्दा जेष्ठनागरिक र अशक्त व्यक्तिसँग खुशी साट्दै सहयोग गर्नु नै उचित ठानेर कार्यक्रम आयोजना गरेको बताए।
“सुरुवातका रूपमा सानो सहयोग गरेको हुँ,” उनले भने, “थोरै भए पनि यो जेष्ठनागरिक र अशक्तप्रति मेरो सम्मान हो। यसबाट अरूलाई पनि प्रेरणा मिलोस् भन्ने चाहना छ।” उनले आगामी दिनमा पनि जन्मदिन गाउँकै बालबालिका, महिला तथा जेष्ठनागरिकसँगै मनाउने योजना रहेको बताए।
सहयोग पाएपछि लाम्रा र श्रीनगर क्षेत्रका जेष्ठनागरिकहरू खुशी भएका थिए।्ध

प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार