२०८३ साउन १२ , मंगलबार

जुम्लामा ११.६७० किलोग्राम चरेससहित एक जना पक्राउ




जुम्ला,  जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध (चरेस) सम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ। चन्दननाथ नगरपालिका–७ महतगाउँ निवासी ३७ वर्षीय सन्तोष महतलाई ११.६७० किलोग्राम शुद्ध चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा मंगलबार साँझ करिब ६:०० बजे प्रहरी टोलीले सन्तोष महतको घरमा कानुनबमोजिम खानतलासी गरेको थियो। खानतलासीका क्रममा घरमा सञ्चालित पसलको टेबलमुनि कालो पदार्थ फेला परेको थियो।
बरामद गरिएको पदार्थलाई परीक्षणका लागि नार्कोटिक्स ब्युरोमा पठाउँदा उक्त पदार्थ ११.६७० किलोग्राम शुद्ध चरेस रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
प्रहरीले चरेससहित सन्तोष महतलाई नियन्त्रणमा लिई लागूऔषध (चरेस) सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। यस सम्बन्धमा सम्मानित जिल्ला अदालत जुम्लाबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक निर्देश बरालले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार