नेपाली कांग्रेसकी नेतृ तथा चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। काठमाडौंको खुलामञ्चमा आइतबारदेखि सुरु भएको पार्टीको १५औँ महाधिवेशनमा उनले केन्द्रीय सदस्य पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेकी हुन्।विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी खड्काले पार्टीलाई थप सुदृढ, संगठित र रूपान्तरित कांग्रेस बनाउने संकल्पसहित पुनः केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।पार्टी संगठनलाई बलियो बनाउने, कार्यकर्ताको भावना र अपेक्षालाई नेतृत्वसम्म पुर्याउने तथा कांग्रेसका लोकतान्त्रिक मूल्य–मान्यतालाई थप संस्थागत गर्ने उद्देश्यसहित आफू पुनः केन्द्रीय सदस्यको प्रतिस्पर्धामा होमिएको खड्काले बताएकी छन्।केन्द्रीय नेतृत्वमा रहेर जुम्ला कांग्रेसको संगठनलाई थप गतिशील बनाउने, गाउँ–गाउँसम्म संगठन विस्तार गर्ने, निष्क्रिय संरचनालाई चलायमान बनाउने तथा युवा पुस्तालाई पार्टीको मूलधारमा जोड्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।विशेष महाधिवेशनबाट आफू केन्द्रीय सदस्यमा निर्वाचित भइसकेको र पार्टीको संगठन निर्माण तथा नेतृत्वको जिम्मेवारीमा काम गरिसकेको अनुभवका आधारमा अहिलेको उम्मेदवारी स्वाभाविक भएको खड्काले बताइन्। उनले भनिन्, “पार्टीलाई नयाँ ऊर्जा र नयाँ सोचका साथ अघि बढाउन, कार्यकर्ताको भावना बुझेर संगठनलाई थप बलियो बनाउन र जुम्लाको आवाजलाई केन्द्रमा प्रभावकारी ढंगले उठाउन मेरो उम्मेदवारी हो।”खड्काले कांग्रेसभित्र विचार, संगठन र नेतृत्वबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै कार्यकर्तामैत्री पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएकी छन्। पार्टीमा योगदान गरेका नेता तथा कार्यकर्ताको उचित मूल्यांकन, संगठनमा अनुशासन र सक्रियता, युवाको सहभागिता तथा जनतासँग पार्टीको सम्बन्धलाई थप मजबुत बनाउने विषयलाई समेत उनले आफ्नो प्राथमिकतामा राखेकी छन्।विशेषगरी कर्णालीजस्तो भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकका समस्या, विकासका मुद्दा तथा जिल्लाका राजनीतिक र सामाजिक सवाललाई केन्द्रीय नेतृत्वसमक्ष प्रभावकारी रूपमा उठाउन आफू प्रतिबद्ध रहेको खड्काले बताएकी छन्।
पार्टीमा भद्र, शालीन र स्वाभिमानी नेतृका रूपमा आफ्नो परिचय बनाएकी खड्काको उम्मेदवारीलाई जुम्लाका कांग्रेस कार्यकर्ताले सकारात्मक रूपमा लिएका छन्। उनको उम्मेदवारीसँगै जुम्ला कांग्रेसमा समेत नयाँ राजनीतिक बहस र उत्साह थपिएको कांग्रेसजनको भनाइ छ।
केन्द्रीय सदस्यमा पुनः निर्वाचित भएमा पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै जुम्ला कांग्रेसलाई एकताबद्ध, सक्रिय र परिणाममुखी संगठनका रूपमा अघि बढाउने खड्काको प्रतिबद्धता छ।
प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार





प्रतिक्रिया दिनुहोस्