कालिकोट जिल्ला तिलागुफा नगरपालिका–२ मा स्थानीय डकर्मीहरूका लागि ५ दिने ‘चुना मिश्रित सुधारिएको माटो (Lime-Stabilized Soil – LSS) प्रविधि’ सम्बन्धी विशेष तालिम सञ्चालन भइरहेको छ। २०८२ चैत २८ (११ अप्रिल २०२६) देखि सुरु भएको उक्त तालिमको उद्घाटन तिलागुफा नगरपालिका–२ का वडा अध्यक्ष तुल बहादुर बाहाेराले गर्नुभएको हो।
तालिममा तिलागुफा नगरपालिकाका १५ जना स्थानीय डकर्मीहरू सहभागी छन्, जसलाई स्थानीय स्तरमा उपलब्ध हुने माटोमा चुना (Lime) को उचित अनुपात मिलाएर टिकाउ र भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिँदैछ। यो प्रविधि खर्चिलो सिमेन्टको विकल्पमा रुपमा र वातावरणमैत्री मानिन्छ।
तालिमकाे बारेमा जानकारी दिँदै पेस नेपाल (PACE-Nepal) जुम्लाका कार्यक्रम संयोजक नारद रेग्मीले भन्नुभयो— “हाम्रो मुख्य उद्देश्य स्थानीय स्तरमै पाइने स्रोत-साधनको प्रयोग गरी समुदायलाई सुरक्षित आवास निर्माणमा आत्मनिर्भर बनाउनु हो। यो प्रविधिले एकातिर निर्माण लागत घटाउँछ भने अर्कोतिर विपद्को समयमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न ठुलो मद्दत पुर्याउँछ। डकर्मीहरूको यो सिप विकासले सुरक्षित र उत्थानशील समुदाय निर्माणमा महत्त्वपूर्ण इँटा थप्नेछ।”
तालिमको प्राविधिक सहजीकरण सि.आर.एस (CRS) नेपालका आर्किटेक्ट इन्जिनियर रूपेश श्रेष्ठ र हेड डकर्मी सर्जु चौधरीले गरिरहनुभएको छ। ५ दिनसम्म चल्ने यो कार्यक्रम मानवीय सहायता तथा विपद् पूर्वतयारी (उत्थान)’ परियाेजना अन्तर्गत सञ्चालन गरिएको हो। जसमा पेस नेपालको कार्यान्वयन, कारितास जर्मनी र कारितास नेपालको मुख्य सहयोग तथा तिलागुफा नगरपालिका र सि.आर.एस नेपालको सह-लगानी र प्राविधिक साझेदारी रहेको छ।
यस तालिमबाट दक्ष भएका डकर्मीहरूले आगामी दिनमा तिलागुफा र आसपासका क्षेत्रमा भूकम्प प्रतिरोधी र सुरक्षित घर निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने र स्थानीयस्तरमै रोजगारीको अवसर समेत सिर्जना हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्