२०८३ साउन १२ , मंगलबार

जुम्लामा ४२५ जना भेडापालन किसानलाई प्रोत्साहन भत्ता प्रदान



जुम्ला :  पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले चालु आर्थिक वर्ष भित्र जुम्लाका करिब ४२५ जना भेडापालन किसानलाई प्रोत्साहन भत्ता प्रदान गरेको छ ।
यहाँका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवद्र्धन गर्नका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएपछि जिल्लाका किसान उत्साहित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका पशुपन्छी विकास तथा उत्पादन शाखाका प्रमुख पदम बहादुर केसीले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको स्वकृति कार्यक्रम अनुसार कार्यालयले भेडापालन प्रवद्र्धन कार्यक्रम अन्तर्गत यहाँका ४२५ जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गरिएको पशुपन्छी विकास तथा उत्पादन शाखाका प्रमुख केसीको भनाइ छ ।
मन्त्रालयको सो कार्यक्रमबाट भेँडा पालन किसानलाई निकै राहत समेत पुगेको छ । ५० भन्दा माथि भेडा बाख्रा पालन गरि रहेका किसानहरुले प्रत्येक महिनाको १ हजार पाँच सयका दरले एक वर्षमा जम्मा रु १८ हजार प्रति किसानले प्रोत्साहन अनुदान भत्ता पाउने गरेको पशुपन्छी विकास तथा उत्पादन शाखाका प्रमुख केसीले बताउनुभयो ।
जिल्लामा करिब १७ सयभन्दा बढी भेडा किसानछन् । जहाँ ८८ हजार ३८८ भेँडा र ४३ हजार ३०६ बाख्रा किसानले पालिएकाछन् । जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ ।
सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेँडा पाल्ने किसान रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाले जनाएको छ । १८ हजार प्रोत्साहन भत्ता पाउँदा केही राहत पुगेको यहाँका भेडापालक किसान बताउँछन् । तिलक

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार