
जुम्ला, चन्दननाथ नगरपालिका–८, धुपिढुस्कास्थित भैरव माध्यमिक विद्यालयमा +2 तहअन्तर्गत शिक्षा व्यवस्थापन (Education Management) विषयको अध्ययन सञ्चालन भएपछि स्थानीय समुदायमा खुसी छाएको छ। गाउँ नजिकै गुणस्तरीय उच्च माध्यमिक शिक्षा अध्ययन गर्ने अवसर उपलब्ध भएपछि विद्यार्थी र अभिभावक दुवै खुसि भएका छन्।
विद्यालयमा हाल कक्षा १२ मा ५१ जना र कक्षा ११ मा ३६ जना गरी कुल ८७ जना विद्यार्थी शिक्षा व्यवस्थापन विषयमा अध्ययनरत छन्। विद्यार्थीको उत्साहजनक सहभागिताले विद्यालयप्रति विश्वास बढ्दै गएको देखिन्छ।
कार्यक्रम संयोजक विष्णुचन्द डागिका अनुसार, “पहिले +2 अध्ययनका लागि विद्यार्थीहरू सदरमुकाम वा अन्य स्थानमा जानुपर्ने बाध्यता थियो। अहिले आफ्नै गाउँ नजिकै शिक्षा व्यवस्थापन विषय अध्ययन गर्न पाउँदा विद्यार्थी, अभिभावक र समुदाय खुसी भएका छन्। यसले विद्यार्थीको नियमित उपस्थितिले शैक्षिक उपलब्धिमा पनि सकारात्मक प्रभाव पारेको छ।”
यस कार्यक्रमको सञ्चालन,गर्न व्यवस्थापन तथा आवश्यक समन्वयमा चन्दननाथ नगरपालिका–८ का वडा अध्यक्ष रूपबहादुर रोकायाको सक्रिय सहयोग रहेको विद्यालयले जनाएको छ। वडा अध्यक्ष रोकायाले वडाभित्रको शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै विद्यालयको शैक्षिक उन्नयनका लागि निरन्तर सहयोग र समन्वय गर्दै आएको विद्यालय परिवारले जनाएको छ।
स्थानीय अभिभावकहरूले पनि गाउँमै उच्च माध्यमिक तहको अध्ययनको अवसर उपलब्ध हुँदा आर्थिक भार घटेको, विद्यार्थीको समय बचत भएको बताएका छन्।
विद्यालय प्रशासनले आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ सुदृढ गर्दै दक्ष, सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आवश्यक शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्