काठमाडौं । पछिल्ला केही वर्षयता मुलुकको आर्थिक गतिविधि सुस्त गतिमा छ । आर्थिक गतिविधि सुस्त हुँदा यसको असर बैंकिङ क्षेत्रमा पनि परेको छ । असरका बाबजुद सिटिजन्स बैंकको वित्तीय सूचक बलियो देखिएको छ ।
गत आर्थिक वर्षमा बैंकले एक अर्ब २९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकले एक अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको थियो ।
कर्जा नोक्सानी बढ्दा नाफामा असर परेको बैंकले शनिबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको निष्क्रिय कर्जा ४.९४ प्रतिशत छ । बैंकले झण्डै १०६ प्रतिशत प्रोभिजन (व्यवस्थापन) गरेको छ ।
गत वर्ष गरेको नाफाबाट बैंकले सेयरधनीलाई ५.२५ प्रतिशत लाभांश दिनसक्ने देखिएको छ । बैंकको वितरणयोग्य नाफा ७६ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ११.२० प्रतिशत बढेर ६ अर्ब ३६ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष ब्याज आम्दानी पाँच अर्ब ७२ करोड रुपैयाँ थियो । एक वर्षको बीचमा बैंकको ब्याज आम्दानी ६४ करोड ११ लाख रुपैयाँ बढेको बैंकले जनाएको छ ।
बैंकको निक्षेप परिचालन पनि ११.६९ प्रतिशत बढेर दुई खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष निक्षेप परिचालन एक खर्ब ९१ अर्ब ६७ करोड रुपैयाँ थियो । एक वर्षको अवधिमा बैंकको निक्षेप २२ अर्ब ४० करोड रुपैयाँ बढेको छ ।
कर्जा प्रवाह पनि बढेर एक खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको कर्जा लगानी एक खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ थियो । बैंकको सञ्चित कोषको आकार पनि बढेर सात अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ६ अर्ब ७६ करोड रुपैयाँ थियो ।
प्रतिसेयर आम्दानी ८.७६ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ रहेको बैंकले जनाएको छ ।
बैंकको आधारदर घटेर ६.२५ प्रतिशतमा झरेको छ भने कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ र ब्याजदर अन्तर (स्प्रेड) ३.६४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्