२०८२ असोज १४ , मंगलबार

कनकासुन्दरीमा विपद व्यवस्थापन तथा प्राथमिक उपचारसम्बन्धी दुई दिने तालिम 



 

कनकासुन्दरी गाउँपालिकामा विपद व्यवस्थापन तथा आधारभूत प्राथमिक उपचारसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।

प्लान ईन्टरनेशनल नेपालको सहयोग, क्याड नेपाल जुम्लाको सहजीकरण, विपद शाखा कनकासुन्दरी गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्ला र कर्णाली प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्मका प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको हो । गाउँपालिकाको गोठिज्युलामा श्रावण ३० र ३१ गतेसम्म सञ्चालन भएको तालिममा आठ वडाबाट २२ जना र गाउँपालिका तथा शाखा कार्यालयका ६ जना प्रतिनिधिसहित कुल २८ जनाको सहभागिता रहेको थियो ।

परियोजना संयोजक राजेश प्रकाश यरीका अनुसार, तालिमको मुख्य उद्देश्य स्थानिय युवाहरु र सरोकारवालाको आपतकालीन प्रतिकार्य क्षमतामा वृद्धि गर्नु रहेको थियो । तालिममा सहभागीलाई विपदको परिचय, प्रकार, विशेषता, विपद व्यवस्थापन चक्र, जलप्रकोप परिचय, अग्नि नियन्त्रण, स्थानीय स्रोत साधन प्रयोग गरी उद्धार सामग्री बनाउने तरिका लगायत विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण दिइएको थियो ।

गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्यले तालिमको आयोजना गरेको क्याड नेपाललाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा गाउँपालिकाले स्वयं यस्ता कार्यक्रमको समन्वय तथा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह समेत गर्नुभयो ।

 

सहभागी रोशनी बुढाले तालिमपछि आफूले गाउँघरमा हुने विपदजन्य घटनामा सजग र सक्षम भएर कार्य गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विपदसम्बन्धी सामान्य ज्ञानको कमीका कारण वर्षेनी विपदका घटना बढ्दै गएको उल्लेख गर्दै, यस्ता तालिमले घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

 

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्य, उपाध्यक्ष प्रेमकली बुढा, वडा नं. १ का अध्यक्ष भिमबहादुर भण्डारी, वडा नं. ५ का अध्यक्ष विष्णु बडुवाल, क्याड नेपाल जुम्लाका कार्यकारी निर्देशक धनबहादुर गौतमसहित सुरक्षाकर्मीहरूको उपस्थितिमा तालिम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८२ भदौ ३ गते मंगलबार