२०८३ जेठ १७ , आइतबार

​तिलागुफा नगरपालिकामा’चुना मिश्रित सुधारिएको माटो प्रविधि’ ५ दिनकाे डकर्मी तालिम सम्पन्न




  • कालिकाेट
    कारितास जर्मनी र कारितास नेपालको आर्थिक सहयोग तथा पेस नेपालको साझेदारीमा सञ्चालित “मानवीय सहायता तथा विपद् पूर्वतयारी (उत्थान) परियोजना” अन्तर्गत कालीकोटको तिलागुफा नगरपालिकामा ५ दिने ‘चुना मिश्रित सुधारिएको माटो प्रविधि’ डकर्मी तालिम सम्पन्न भएको छ। तिलागुफा नगरपालिका र सि.आर.एस. नेपालको सहलगानीमा आयोजित यस तालिमले स्थानीय स्रोतको प्रयोगबाट भूकम्प प्रतिरोधी आवास निर्माणमा जोड दिएको छ।
    नेपालको हिमाली र पहाडी भेगमा परम्परागत रूपमा ढुङ्गा तथा  माटाका घरहरू बनाउने चलन   परम्परागत   देखि चल्दै आएको छ। तर, भूकम्पीय जोखिम र समयसँगै ती घरहरूको सुरक्षामा प्रश्न उठ्न थालेको बेला कालीकोटको तिलागुफा नगरपालिकामा एउटा नयाँ र आशालाग्दो प्रविधिको सफल अभ्यास गरिएको छ— “चुना मिश्रित सुधारिएको माटो प्रविधिमा हालै सम्पन्न ५ दिने डकर्मी तालिमले स्थानीय सामग्रीकै प्रयोगबाट आधुनिक इन्जिनियरिङ मापदण्ड अनुसारका सुरक्षित आवास निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ।
    ​यो प्रविधि परम्परागत ढुङ्गा-माटोको गारोलाई मिलाएर आधुनिक र वैज्ञानिक रूपमा परिमार्जन गरिएको स्वरूप हो। माटोमा निश्चित मात्रामा चुना,खरानी,पराल र सुर्कि मिसाउँदा यसको गाराेकाे क्षमता बलियो हुन्छ भने।यसले प्रतिरोध गर्ने क्षमता पनि  बढ्छ। यस प्रविधिका मुख्य विशेषता र आकर्षणहरू निम्नानुसार रहेका छन्:
    ​स्थानीय सामग्रीको उच्चतम प्रयोग: ढुङ्गा, माटो र स्थानीय स्तरमै उपलब्ध ‘जाड खामा’ तथा ‘काठको ब्यान्ड’ को प्रयोग गरिने।
    ​भूकम्प प्रतिरोधात्मक क्षमता: राष्ट्रिय भवन निर्माण आचारसंहिता (National Building Code) को पूर्ण पालना गर्दै संरचनालाई जगैदेखि सुरक्षित बनाइने।
    ​लागतमा कमी: आयातित र महँगो सिमेन्ट तथा रडको विकल्पमा स्थानीय सामग्री प्रयोग हुने भएकोले यो प्रविधि निकै फाईदा जनक छ।
    ​स्वास्थ्य र वातावरण अनुकूल: माटो र चुनाको प्रयोगले घरलाई मौसम अनुकूल (जाडोमा न्यानो र गर्मीमा शीतल) बनाउनुका साथै सिमेन्टको तुलनामा स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
    ​तालिमकै दौरान सहभागी १५ जना डकर्मीहरूले यी मापदण्डहरू अपनाएर २ वटा घरमा ४ वटा ढलान (Slab) र भित्ता प्लास्टर सम्पन्न गरेका छन्।तालिममा सहभागी डकर्मीहरूले स्थानीय सामग्रीको प्रयोग हुने र आयातित सामग्रीको निर्भरता एकदमै कम हुने भएकाले यो प्रविधि ग्रामीण भेगका समुदायका लागि सबैभन्दा उपयुक्त रहेको बताएका छन्। सिमेन्ट र कर्कट पाता (जस्ता) जस्ता महँगो सामग्री खरिद गर्न नसक्ने परिवारका लागि यो तालिमले महत्वपूर्ण जीवनउपयोगी र सिकाईमा प्रदान गरेको उनीहरूको अनुभव छ। “आफ्नै गाउँ-ठाउँमा पाइने चिजबाटै इन्जिनियरिङ मापदण्डको सुरक्षित घर बनाउन सकिने कुराले हामीलाई उत्साहित बनाएको छ,” एक सहभागीले बताए।
    ​तालिमको समापनमा सिआरएस नेपालका आर्किटेक्ट इन्जिनियर रुपेश श्रेष्ठले यो प्रविधि अन्तर्राष्ट्रिय रूपमा समेत सफल भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार, “यो प्रविधि बाढी र बढी बिपद प्रभावित देशहरूका साथै नेपालका बाँके, बर्दिया, जाजरकोट र चितवनमा सफल भइसकेको छ। यो स्वास्थ्यका हिसाबले उपयुक्त हुनुका साथै निकै दिगो पनि छ।” त्यस्तै, तिलागुफा नगरपालिकाका सब-इन्जिनियर रमेश कामतीले हिमाली भूगोलको बनावट र हावापानीका लागि यो प्रविधि सिमेन्ट र रडको तुलनामा धेरै सुहाउँदो रहेको बताउनुभयो।
    ​तिलागुफा नगरपालिका वडा नं. २ का स्थानीयहरूले आफ्नो गाउँलाई ‘अर्गानिक गाउँ’ को रूपमा विकास गर्नका उपयुक्त रहेको छ । स्थानीय संस्कृति र वास्तुकलालाई जोगाउन यो प्रविधिले ठूलो मद्दत गर्ने पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताउनुभयो। उहाँका अनुसार यो प्रविधि घरका लागि मात्र नभई आधुनिक गोठ निर्माण र पर्यटकीय घरहरू (Homestay) का लागि समेत उत्तिकै उपयोगी र आकर्षक रहेको बताउनु भएको छ।
    यसको नजिकबाटै  अबलोकन गरिरहनु भएका वडा नं. २ का वडाध्यक्ष तुलबहादुर बोहराले आगामी वडास्तरीय योजना र बजेट तर्जुमा गर्दा यस प्रविधिलाई प्रक्रियागत रूपमै प्राथमिकताका साथ समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
    ​   “हामीले गत वर्ष जुम्लामा १८ जना डकर्मीलाई तालिम दियौँ, जसको परिणामस्वरुप सिन्जामा १५ वटा नमुना घरहरू निर्माण भइसकेका छन्,”अबको योजना जुम्ला र कालिकोटका विपद् प्रभावित परिवारका लागि यही प्रविधि अपनाएर आगामी दिनहरुमा उत्थान परियोजा मार्फत चुना मिश्रित सुधारिएको प्रबिधी  मार्फत भुकम्प प्रतिरोधी सुरक्षित आवास निर्माण गर्ने पेस नेपालका कार्यक्रम संयोजक नारद रेग्मीले बताउनु भएको छ । उहाका अनुसार कर्णालिका जिल्लाहरु भुकम्प जोखिममा रहेका अबको आवास भुकम्प प्रतिरोधात्मक बनाउन आवश्यक रहेको छ । यसका लागि पेस नेपालले स्थानिय निकाय र अन्य साझेदार निकायसगं समन्वय गरि जुम्ला र कालिकोट जिल्लामा पुरानो भवन प्रवलिकरण तथा बिपद प्रभाबित परिवारका लागि भुकम्प प्रतिरोधात्मक सुरक्षित आवास निर्माणमा काम गरिरहेको छ ।    त्यसैले ​समग्रमा, ‘चुना मिश्रित सुधारिएको माटो प्रविधि’ केवल एक निर्माण पद्धति मात्र नभई स्थानीय पहिचान, संस्कृति र सुरक्षाको एउटा बलियो संगम हो। महँगो र आयातित सामग्रीको विकल्पमा स्थानीय ढुङ्गा, माटो र काठलाई नै इन्जिनियरिङ मापदण्डमा ढाल्नुले विपन्न र सीमान्तकृत समुदायका लागि सुरक्षित आवासको ढोका खोलेको छ। यसले मौलिक वास्तुकला जोगाउँदै दिगो ग्रामीण विकासको एउटा नयाँ मानक स्थापना गर्ने अपेक्षा गरिएको रेग्मीले बताउनु भएको  छ।
प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार