भारतको उत्तराखण्ड प्रदेश उत्तरकाशी जिल्लास्थित धरालीमा गएको भीषण बाढीमा परेर पाँच जना नेपाली मजदुर बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बर्दियाको मधुवन नगरपालिका–५ का नरेन्द्र खड्का, उनकी श्रीमती सन्ध्या खड्का, १८ महिनाका छोरा रोमन र सोही ठाउँका अमृता परियार र सुवास विक बेपत्ता भएको घटनास्थलमा रहेका बर्दिया मधुवन नगरपालिका–५ का चित्र पौडेलले जानकारी दिए।
‘सडक निर्माणमा मजदुरी गरेर उनीहरू टेन्टमा त्यहाँ बस्दै आएका थिए,’ पौडेलले भने, ‘बुधबार बिहान करिब ९:०० बजेतिर आएको बाढीले बगाएपछि पाँच जना बेपत्ता भएका हुन्।’ पौडेल पनि सोही स्थानमा सडक निर्माणमा काम गर्ने मजदुर हुन्। उक्त स्थानमा नेपालका विभिन्न जिल्लाका ४० जना मजदुर ठेकेदारको निर्माण कम्पनीमा सडक निर्माणको काम गर्दै आएका थिए। बुधबार बिहान बेपत्ता भएकाहरूको अवस्था अज्ञात छ।
बर्दियाको मधुवन नगरपालिका–५ का वडाध्यक्ष दिलीप गुरुङले पहिरोमा परेर पाँच जना बेपत्ता, पाँच जना घाइते भएको खबर प्राप्त गरेको जानकारी दिए। ‘मजदुरीका लागि भारत गएका पाँच जना बेपत्ता भएका छन्,’ उनले भने, ‘घाइते पाँच जनामध्ये तीन जना उपचारपछि काममा फर्किसकेका छन्, दुई जनाको उपचार भइरहेको छ।’
पहिरोमा परी बेपत्ता भएकाहरूको अहिले खोजीकार्य भइरहेको छ। त्यहाँ रहेका अन्य नेपाली मजदुरले १०–१५ किलोमिटरसम्म खोजी गरे पनि फेला नपरेको पौडेलले जानकारी दिए।
भारतस्थित नेपाली राजदूतावासले आज विज्ञप्ति जारी गर्दै बेपत्ता नेपालीहरूको अवस्था अझै अज्ञात रहेको जनाएको छ। दूतावासका अनुसार उत्तराखण्ड प्रहरीले राजदूतावासलाई गराएको जानकारीअनुसार तीन सय ७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुई जनाको शव निकालिएको छ। उक्त सूचीमा नेपाली नरहेको दूतावासले जनाएको छ।
‘उत्तराखण्ड प्रदेश पौडी गौडाल जिल्लाको बागोडामा गएको बाढीपहिरोपश्चात् पाँच जना नेपाली हराइरहेका छन्,’ भारतस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ। चार जना घाइतेमध्ये तीन जना घर फर्केको र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको दूतावासले उल्लेख गरे पनि वडा अध्यक्ष गुरुङले भने पाँच जना घाइते भएको बताएका छन्।
उक्त बाढीपहिरोमा परी हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेको उपचारलगायत अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ। रासस
प्रतिक्रिया दिनुहोस्