२०८२ असोज १४ , मंगलबार

कर्णाली राजमार्गमा फेरि पहिरो, यातायात ठप्प



पहिरोले कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकखण्डको गगने खोलामा सडक फेरि अवरुद्ध भएको छ। शुक्रबार दिउसोदेखिको वर्षाले बेलुका ६ बजे गगने खोलामा लेदो सहितको पहिरो बगेपछि सडक अवरुद्ध भएको हो।

गगने खोलामा पहिरो गएर शुक्रबार बेलुकादेखि सडक अवरुद्ध भएकोले सुर्खेतबाट आएका गाडीलाई दैलेखको मालाचौर र खिड्की ज्युला रोकिएको कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले बताए।

‘अहिले खुलाउन सकिने अवस्था छैन,’ उनले भने, ‘पानी रोकियो भने भोलि बिहान पहिरो हटाएर यातायात सुचारु गर्न सकिएला।’ उनले पानी लगातार परिरहेकोले पहिरोमा काम गर्न पनि नसकिने अवस्था छ।

कर्णाली राजमार्गको गगने खोलामा प्रत्येक वर्ष पहिरो जाने गर्छ। दुई वर्षअघि त्यही ठाउँको पहिरो रोक्न सडक डिभिजन कार्यालय जुम्लाले ३ करोड रुपैयाँको ठेक्कामार्फत ग्याविन जाली लगाए पनि गत वर्ष पुरै बगाएको छ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार